Logo

उपराष्ट्रपति जसपालाई दिने सहमति भएकै छैन– सिके राउत (भिडियोसहित)



काठमाडौं, १९ फागुन । जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिलेका राष्ट्रपतिले गरेका गल्ति नदोहोरियोस् भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा विगतका गल्ति नदोहोरियोस् भनेर सैदान्तिक सहमति बनेको बताएका हुन् ।

‘अहिलेको आठ दलीय गठबन्धन जुन नयाँ रुपमा देखापर्यो, त्यो एउटा सैद्धान्तिक पाटोलाई अङ्गालेर यो भन्दा अगाडिको राष्ट्रपतिज्यूले के–कस्ता गल्तिहरु गर्नुभयो । त्यो गल्तिहरु यसपाली नदोहोरियोस् भनेर एउटा सामान्य सहमति भएको हो । यस आधारमा अहिलेको राष्ट्रपतिको उम्मेदवार अगाडि सारिएको हो,’– उनले भने ।

विगतका राष्ट्रपतिले दलीय स्वार्थको आधारमा निर्णय गरेको उनको आरोप छ । नागरिकता विधेयक, दल विभान गर्ने अध्यादेश लगाएतका विषयमा विगतका राष्ट्रपतिले दलीय स्वार्थका आधारमा निर्णय लिएको उनको आरोप छ । ‘विगतमा हामीले नागरिकता विधेयक, दललाई विभाजन गर्ने अध्यादेशको विषयमा होस्, त्यो कुराहरु हामीले भोगेका छौं । कतिपटक राष्ट्रपतिज्यूहरुले एउटा दलीय प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्दाखेरी देश नै संकटमा परेको अवस्था देखियो । त्यो फेरि नदोहोरियोस्,’– उनले भने ।

साथै, जनमत पाटीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने उनले बताए । ‘अहिलेको गठबन्धनअनुसार आठ दलभित्र एउटा सामान्य समझदारी भएको छ । आठ दलभित्र रामचन्द्र पौडेललाई मतदान गर्ने र जिताउने भनेर मोटामोटी सहमति भईसक्यो । अहिलेसम्म हाम्रो पार्टीमा असहमतिको स्वर छैन,’– उनले भने ।

साथै, आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने बारेमा कुनै सहमति नभएको उनले खुलासा गरेका छन् । यसपाली प्रचण्ड नेतृत्वको सरकारसँग जनमत पार्टीको धेरै दाबी हुने उनको भनाई छ ।

‘अहिले हामी राष्ट्रपतिको मात्रै कुरा गछौं । उपराष्ट्रपति छुट्टै कुरा हो । त्यसलाई छुट्टै रुपमा हेर्नुपर्छ र त्यसमा हाम्रो धेरै किसिमको दाबीहरु रहनसक्छ । उपराष्ट्रपतिमा हामीले उम्मेद्वारी दिएनौं भने प्रदेशमा मुख्य मन्त्री दिनसक्नु पर्छ । अन्य कुराहरु हुनसक्छ । उपराष्ट्रपति जसपाले पाउने भनेर कुनैपनि सहमति भएको छैन । यसलाई अनावश्यक रुपमा चर्चा गर्नुहुँदैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्