काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् गगनकुमार थापाले पुष १० को निर्णयमा आफूहरुबाट गल्ति भएको स्विकार गरेका छन् । आज आठ दलीय गठबन्धनका बागमती प्रदेश सभा सदस्यहरुका लागि राखिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले गल्ति सच्याउँदा अहिलेको अवस्था आएको बताएका हुन् ।
साथै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बन्ने कुरा मात्रै ठूलो नभएको उनले बताए । एमालेले भनेको मानेको भए प्रचण्ड पाँच वर्षकै लागि प्रधानमन्त्री बन्नेमा कुनै शंका नरहेको उनले बताए । निर्वाचनमा जनतासामू गरेका बाचा पुरा गर्नका लागि प्रचण्ड पुरानो गठबन्धन ब्युँत्याउन तयार भएको उनको दाबी छ ।
राष्ट्रपति निर्वाचनमा .आठ दलीय गठबन्धनका उम्मेदवार विजयी हुनेमा कुनै शंका नरहेको उनको दाबी छ । ‘मैले गठबन्धनको बैठकमा भन्ने गरेको छु, बाटो हिड्न सुरु गरेपछि फर्कन पाइँदैन । यो यात्रा एक्लैले गर्न लागेको होइन । निर्वाचनपछि दलहरुको बीचमा गठबन्धन गर्नेकुरा दलहरुको निर्णयलेमात्रै सम्भव हुन्छ । निर्वाचनअघिको तालमेललाई दलहरुको निर्णयले मात्रै बदल्न पाइँदैन,’– उनले भने ।
साथै अहिलेको आठ दलीय गठबन्धन टुटाउन एमाले लागि परेको उनको आरोप छ । कांग्रेससँग निहुँ नखोज्न पनि एमालेलाई उनले आग्रह गरेका छन् । ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन । कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन,’– उनले भने ।