काठमाडौं, २३ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन्।
मंगलबार दिउँसो सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, “सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप शान्ति प्रक्रिया टुङ्ग्याउन सहमत छन्। केही प्राविधिक कारणले मात्र रोकिएको हो।”
उनले जनताका पक्षमा राम्रा कामहरुको शुरुवात भएकाले त्यसको जनतामा प्रचार गर्नुपर्ने बताए। उनले वाइसियलका युवाहरुले राखेको मागहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिवर्तनको रक्षाका लागि युवाहरु सचेत र सजग हुनुपर्ने बताए।
प्रधानमन्त्रीले अलिकति राजनीतिक उतारचढावका कारण सोचे जस्तो गरी काम गर्न नसकेपनि सरकारको पूर्णतासँगै कामले गति लिने बताए।