Logo

केपीजी लोकतन्त्र विरोधी शक्ति हुन, एमालेमा जनवाद छैन– पूर्वएमाले नेता साह (भिडियोसहित)



काठमाडौं, २४ फागुन । आम जनता पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन् । हिजो (मंगलवार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै साहले एमालेभित्रै लोकतन्त्रको अभ्यास नरहेको आरोप लगाएका हुन् । अहिले प्रचण्ड माथि आक्रमण भएको भन्दा पनि लोकतन्त्रमाथिको आक्रमण भएको उनको बुझाई छ ।

‘केपीजी भनेको लोकतन्त्र विरोधी शक्ति हो । किनकी उहाँले बहुदलीय जनवादको मुख्य व्यक्ति मदन भण्डारीको ठूलो अपमान गर्दै हुनुहुन्छ । उहाँको पार्टीभित्र पनि जनवाद छैन । बाहिरी रुपमा पनि उहाँले जनवादलाई सही अर्थमा लिइराख्नु भएको छैन । अहिले एमालेभित्र जनवाद छैन,’– उनले भने ।

नेपालमा कम्युनिष्टहरु भ्रष्टकृत हुँदैजानुको परिणमस्वरुप आम जनता पार्टीको उदय भएको उनको दाबी छ । अहिले नेपालका कांग्रेस र कम्युनिष्टमा कुनै फरक नरहेको उनले बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको नक्कल गर्दै पाटी स्थापना गरेको भनी साहमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै उनले नेपालको वस्तुगत धरातललाई आधार बनाएर आफूले पार्टी स्थापित गरेको दाबी गरे । नाम मिल्दोजुल्दो हुँदैमा नक्कल गरेको हुने हो भए कांग्रेस र कम्युनिष्ट पार्टीहरु पनि नक्कल गरेरै बनेको उनको बुझाइ छ ।
साथै, राष्ट्रपतिका लागि नेपाली कांग्रेससहित आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल उपयुक्त विकल्प भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्