Logo

राष्ट्रपतिको प्रतिस्पर्धामा पौडेल र नेम्वाङ, यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचनको इतिहास



काठमाडौं, फागुन २५ गते । मुलुकमा २०६२/ ६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उमेद्धार रहेका रामवरण यादवले दुई सय ८३ तथा नेकपा (माओवादी) को तर्फबाट उमेद्धार रहेका रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरे । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गरे । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए।

नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदि सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचनमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । त्यसै प्रावधान अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि २०७२ कार्तिक २९ गते भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसको तर्फवाट कुल बहादुर गुरुङ उमेद्धार रहेकोमा गुरुङलाई हराउदै मुलुकको दोस्रो तथा देशकै पहिलो महिला राष्ट्रपतिको रुपमा भण्डारी निर्वाचित भएकी थिइन् भने २०७४ मा भएको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचन पछि २०७४ फागुन २९ गते राष्ट्रपतिको निर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन सय २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना ९७ दशमलव ५१ प्रतिशते ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना शून्य दशमलव ९३ प्रतिशते को मत बदर भएको थियो ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा तत्कालीन नेकपाकी उमेद्धार विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा नेपाली कांग्रेसकी उमेद्धार कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो । भने बहुमत प्राप्त गरी भण्डारी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी थिइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र पछि नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज (फागुन २५ ) निर्वाचन हुँदैछ । नेपाली कांग्रेससहित नौ दलीय गठबन्धनको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्