Logo

राष्ट्रपति भण्डारीप्रति विश्वप्रकाशको टिप्पणी- ‘शीतल निवासको भूमिका शीतल लागेन’ (भिडियोसहित)



काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद विश्वप्रकाश शर्माले शीतल निवासको विगतको भूमिका शीतल नभएको टिप्पणी गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघको संकल्प सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल नेपाली जनताका लागि सहज नभएको बताएका हुन् । साथै, उनले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल नेपाली जनताको पक्षमा सहज र सुखद् हुनुपर्ने बताए । ‘शीतल निवासको वितेको चार वर्षको भूमिका शीतल लागेन । गह्रौ, गह्रौ खाल्को लागेको छ । सोरोमोनियल जिम्मेवारी, संवैधानिक जिम्मेवारी निर्वाह गर्ने कुरामा उहाँ (विद्यादेवी भण्डारी) चुक्नु भएको कुरामा हामी सबै गम्भीर थियौं,’– उनले भने ।

साथै, अहिलेका राष्ट्रपति जनताको माझमा रहन सक्नुपर्ने उनको भनाई छ । ‘हाम्रो अबको राष्ट्रपति कतै मर्निङवाक गर्दै गरेको नागरिकले भेटिए भनेपनि अचम्मित मान्ने नहुने गरी भेटिने अवस्था बनोस्,’– उनले भने । अबको राष्ट्रपति प्रहरी र आर्मीको घेरामा होइन नागरिककोबीचमा हुनुपर्ने उनले बताए । साथै, उनले नेविसंघका नेता कार्यकतालाई आफ्नो दायित्व र कर्तव्यमा रहेर इमानदारितापूर्वक काममा लाग्न आग्रह गरे । नेविसंघका नेता कार्यकर्तालाई उनले २०४६ सालको जनआन्दोलनमा नेविसंघको भूमिका स्मरण गराउँदै आफू कुनै कर्म क्षेत्रमा जाँदै गर्दा पनि नेविसंघ भन्ने भावनालाई जागृत गराइराख्न आग्रह गरे ।

२०४६ सालको आन्दोलनमा निधन भएका लालबहादुर बम र वीर अस्पतालको नर्सको सन्र्दभलाई जोड्दै उनले भने– ‘आज म तपाईँहरुलाई अपील गर्न चाहन्छ्, तपाईँभित्र नेपाल विद्यार्थी संघ भन्ने भावना, त्यो संगठन हिजो जुन संगठनको नेतृत्व गरेर सभापति भएर, स्कुलको सभापति देखि केन्द्रको सभापति भएर काम गर्ने अवसर मैले पाए । म पार्टीको महामन्त्रीको नेतृत्व गर्दै छु आज । भविष्यमा कुनै दिन सभापति बनौंला । भविष्यमा कुनै दिन सभापति पनि बनौंला । तर, मेरो लागि छातिभित्र सबैभन्दा ठूलो स्थान छ भने नेविसंघलाई स्थान छ । त्यो संगठनभित्रको भावना छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्