Logo

उपराष्ट्रपतिमा रामसहाय र रञ्जिताको ‘च्याप्टर क्लोज’



काठमाडौं, २६ फागुन । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी नागरिक उन्नमुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपराष्ट्रपतिको लागि भोलि (शनिबार) मनोनयन दर्ताको समय तोकिएको छ । तर, मनोनयन दर्ताको नहुँदै अहिलेसम्म दलहरुले टुंगो लगायका उम्मेदवार अयोग्य भएका छन् ।

जसपा संसदीय दलको नेतासमेत रहेका रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले एक निर्णय गर्दै मनोनयन दर्ताका लागि बे्रक लगाएको छ । ‘उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’– आयोगद्वारा जारी निर्देशनमा भनिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु व्यवस्था रहेको छ ।

२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएसँगै रामसहाय यादवको उपराष्ट्रपति हुने चाहनामा ब्रेक लागेको हो । साथै नेपालको संविधानको धारा ७० लेसमेत राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठको पनि उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको छ । संवैधानिक व्यवस्था अनुरुप उनी महिला उम्मेदवार भए पनि उमेरका कारण उनको उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको हो । नाउपाको आज बसेको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनको उमेर हाल ३८ वर्ष भएको बताइएको छ । संविधानको धारा ६९ मा उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया र पदावधि सम्बन्धि व्यवस्था राष्ट्रपतिको सरह हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिको उमेर सम्बन्धी व्यवस्थामा धारा ६४ (१) (ख) अनुसार पैंतालिस वर्ष उमेर पुरा भएको हुनुपर्ने उल्लेख भएको छ ।

उपराष्ट्रपतिको लागि भोलि (फागुन २७ गते) मनोनयन दर्ताका कार्यतालिका भएपनि अन्य दलले उम्मेदवार टुंगो लगाएका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्