Logo

प्रधानमन्त्रीलाई मेरो कमाण्डमा बस्नुपर्छ भन्दा ओलीले विश्वसनियता गुमाउनुभयो– माओवादी नेता पौडेल



काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जनताको पक्षमा केही गरेर देखाउने हुटहुटी बाँकी नै रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि जनता र देशको पक्षमा काम गरिरहेको बताएका हुन् । ‘उहाँले केही न केही गरेर देखाउँछु भन्ने हुटहुटी जनताकोबीचमा प्रस्तुत गर्नु भएको छ । गर्छु भन्ने इच्छाशक्ति छ । केही न केही गर्नुहुन्छ भन्ने कुरामा आशावादी छौं,’– उनले भने ।

कम्युनिष्ट आन्दोलन जोगाउन नसक्नु र अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमति नजुट्नुमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बढी दोषी रहेको उनको आरोप छ । कम्युनिष्ट पार्टी जोगाउन नसकेको भनेर प्रचण्डमाथि आरोप लगाउने ओली आफैंले आफ्नो खल्तीको मान्छे भए राष्ट्रिय सहमति हुने, नत्र नहुने भन्ने दम्भ देखाएको उनको आरोप छ । ‘ओलीजी रमिते हो ? कम्युनिष्ट पार्टी जोगाउने जिम्मा उहाँको थिएन ? उहाँले पनि त सम्हाल्नु पथ्र्यो नि ? राष्ट्रिय सहमति गर्ने जिम्मा उहाँको थिएन ? होइन ? गर्नु पर्दैन उहाँले ? अरुलाई आलोचना गर्न जति सजिलो छ, उहाँले सम्हालेको भए हुन्थ्यो नि ? उहाँले पनि त सम्हाल्न सक्नुभएन । अहिले राष्ट्रिय सहमतिको प्रसंग उठ्यो । उहाँकै पहलमा यो व्यक्तिलाई उम्मेदवार बनाउन भनेर प्रचण्ड र केपीजी कांग्रेस कहाँ गएर प्रस्ताव गरेको भए कति राम्रो हुन्थ्यो ? राष्ट्रपति जस्तो पद, मेरो पकेटबाट निकालेर यो चिट दिएर यो हुन्छ भने गर, हैन भनी म छैन भनेर उठेर हिड्नु भयो उहाँ (ओली) । अनि अर्कालाई मात्र आलोचना गर्ने ?’– उनले प्रश्न गरे ।

केपी ओलीले सबै पद आफूलाई खोजेकाले अहिलेको अवस्था आएको उनले बताए । प्रचण्डले एमालेका मान्छेलाई धेरै पटक गुण लगाएको उनले बताए । प्रचण्डलाई यस पटक एमालेले समर्थन दिएर प्रधानमन्त्री बनाउनु कु्नै नौलो कुरा नभएको उनको भनाई छ । ओलीको अहंकार र दम्भले अहिले प्रचण्डले गठबन्धन परिवर्तन गर्नु परेको उनले बताए ।
‘बाजी धेरै पटक लगाउने चलन छ । उहाँले प्रचण्डलाई एक पटक गुण लगाउनु भयो होला । धेरै पटक प्रचण्डले पनि उहाँलाई उहाँको दलको मान्छेलाई प्रधानमन्त्री बनाउनु भएको छ । प्रधानमन्त्री भइसकेपछि मेरो कमाण्डमा प्रधानमन्त्री बस्नुपर्छ । म हौ परिचालन गर्ने । संसद् विघटन दुई दुई पटक गरे । सही गरे । ठीक गरे । यो कांग्रेस को हो ? असहमतिको राजनीति उहाँले गर्नुभयो । त्यसका कारणले उहाँले विश्सनीयता गुमाउनु भयो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्