काठमाडौं, २७ फागुन । नेपाली काँग्रेसका युवा नेता तथा सांसद् प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिष्पर्धात्मक अवस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने औल्याएका छन्। सरकारी विद्यालयको साथै निजिस्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनुपर्ने आवश्यकता औल्याएका हुन्।
शनिबार ज्ञान चक्षु ईङ्लिस स्कूलको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका नेता पौडेलले सरकारी विद्यालयभन्दा निजिस्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो भएको बताएका हुन्। उनले निजि विद्यालयको शुल्क महंगो भएको र अभिभावकले तिर्न कठिन भएकाले यसमा राज्यको लगानी आवश्यक रहेको पनि बताएका छन्।
उनले प्रमाणपत्र मुखी भन्दापनि नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता रहेको बताउँदै प्रतिस्पर्धात्मक शिक्षाबाट नै दक्ष जनशक्ति उत्पादन हुने भएकले यसमा विद्यालयले जोड दिनुपर्ने बताए।
कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु ईङ्लिस स्कुलले बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गरीरहेको बताए। श्रेष्ठले निकट भविष्यमा नै शैक्षिक पूर्वाधारयुक्त विद्यालयको आफ्नै भवन निर्माण हुने पनि खुलासा गरे।
विद्यालयका प्रधानाध्यापक मिन कुमार कोइरालाले भावि शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए। उनले विगतको अनुभव र आजको आवश्यकतालाई आत्मसाथ गर्दै विद्यालयलाई नम्बर १ बनाउने आफू दत्तचित्त भएर लाग्ने बताए।
कार्यक्रममा वरिष्ठ गायक हेमन्त शर्मा, राष्ट्रिय कलाकारहरु रिता केसी, जादुगर शेर बहादुर गुरुङ्ग, नृत्याङ्गना शुसिला थापालगायतले प्रस्तुती राखेका थिए।
उक्त कार्यक्रममा विद्यालयका शिक्ष, कर्मचारी पुरस्कार प्रदान गरिनुका साथै विद्यालयको अतिरिक्त क्रियकलापमा सहभागि उत्कृष्ट विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।