Logo

शान्ति प्रक्रिया नटुङ्गिएकोमा मेटमणिले उठाए प्रश्न (भिडियोसहित)



काठमाडौं, २९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले अहिले सबै कम्युनिष्टहरु एक ठाउँमा आउने वातावरण नबनिसकेको बताएका छन् । हिजो (आइतबार) प्राइम पाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता चौधरीले यतिचाँडै सबै कम्युनिष्टहरु एक हुने सम्भावना नभएको बताएका हुन् । ‘कम्युनिष्टहरु सबै कसरी आउँछ एक ठाउँमा ? परिस्थिति मिल्दै गर्एमा कुनै बेला हामी एक ठाउँमा हुनसक्छौं । तर, यतिचाँडै, यतिछिटो सम्भव छैन,’– उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण व्यक्तित्व भएको उनको भनाई छ । उनीहरुलाई बाहिर राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेझैं दाहाल–नेपाल बाहेकका कम्युनिष्ट एकता सम्भावनानै नरहेको उनले दाबी गरे । शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने दायित्व सबै राजनीतिक दलको भएको उनले बताए । मुलुकमा परिवर्तनका लागि सुरुभएको द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएको १६ वर्षसम्म त्यसको व्यवस्थापन हुन नसक्नु आफैंमा दुःखद् भएको उनले बताए ।

‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने दायित्व हामी सबैको हो । मुलुकमा परिवर्तनका लागि द्वन्द्व सुरु भएको थियो । त्यसको व्यवस्थापन शान्ति प्रक्रिया पुरा भएको १६ वर्षसम्म पनि गर्न सकिएन । छ महिनाभित्र पुरा गर्ने भनिएको शान्ति प्रक्रियाको काम १६ वर्षसम्म पुरा नहुनु हामी सबैको कमजोरी हो,’– उनले भने ।

२०७२ साल पछाडि सरकारमा नेतृत्व गर्ने राजनीतिक दल र नेताहरुको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने कार्यमा कमजोरी भएको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डले पनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने बारेमा ध्यान दिन नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्