Logo

अरु पार्टीका भातृसंगठन जस्तै अभियानले कालोमसो दस्ता बनाएको हो : प्रसाईं



काठमाडौं, ३० फागुन । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अरु पार्टीका भातृ संगठनहरु जस्तै आफूले चलाएको अभियानको भातृ संगठन कालोमसो दस्ता बनाएको बताएका छन्।

झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान- २०७९’ अभियान सुरु गरेका प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अरु पार्टीका भातृ संगठनहरु जस्तै आफूले चलाएको अभियानको भातृ संगठन कालोमसो दस्ता बनाएको बताएका हुन्।

‘नेकपा(एमाले)को युवा संघ, माओवादी केन्द्रको वाईसिएल र नेपाली काँग्रेसको तरुण दल जस्तै हाम्रो अभियानको कालोमसो दस्ता बनाएको थियो। त्यो बनाएकै भरमा केही नगरीकन उहाँलाई पक्रेर लगेर थुनियो। कति अराजक रहेछ मुलुक। संविधान प्रदत्त अधिकारमाथि हनन गर्‍यो राज्यले। उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दा खेरी प्रचण्ड सरकारले पक्रेको छ। मलाई पनि खेदिराखेको छ। तर म भाग्नेवाला छैन। अब स्वतः स्फूर्त रूपमा देश, गाउँ, हरेक ठाउँबाट यी सामन्तहरूलाई ठेगान लगाउने काम गर्नुपर्छ र यी बैंक र लघुवित्तहरू यही तरिकाले छाडा छोड्यो भनेदेखि हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन्। हामी सुकुम्वासी हुँदैछौँ।’ उनले भने।



प्रतिक्रिया दिनुहोस्