चितवन, १ चैत्र । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा लक्षित गरी योजना लागू गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिने छ। निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको हो। निर्वाचनलाई लक्षित गर्दै शङ्कास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए।
स्ववियु निर्वाचन कार्यातालिका अनुसार उम्मेदवारको नामा प्रकाशन पछि अहिले विद्यार्थी सङ्गठन प्रचारप्रसारमा लागि रहेका छन्। प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए। निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको पण्डितले बताए।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्ववियु निर्वाचनका लागि समन्वयात्मक सुरक्षा रणनीति अपनाइएको बताए। उनले भने, ‘स्ववियु निर्वाचन हुने कलेजमा कलेज प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ।’ रासस
file photo