Logo

नागरिक उन्मुक्ति र लोसपाले पनि उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलेसमेत आफूलाई सहयोग गर्ने बताएका छन् । आज (शुक्रबार) बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्रबाट सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नागरिक उन्मुक्ति पार्टीले आफ्नो पक्षमा मत हाल्ने प्रतिवद्धता व्यक्त गरिसकेको र अन्य दुई पार्टीले पनि मत खेर नफाल्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । जनमत पार्टीले पनि आफूलाई मतदान गरेर पहिलो पटकमै उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुने कुरामा शंका नरहेको उनले बताए ।

‘नागरिक उन्मुक्ति पार्टीले पनि मलाई भोट दिने निर्णय गरिसक्नु भयो । लोसपालाई पनि मैले आग्रह गरेको छु । उहाँहरुले दिनुहुन्छ भन्ने म विश्वस्त छु । जनमत पार्टीले पनि यस्तो अवस्थामा आएर भोट खेर किन फाल्ने ? दोस्रो पटक निर्वाचन हुने परिस्थिति किन खडा गर्ने ? त्यसकारणले उहाँहरुले आन्तरिक रुपमा मलाई सहयोग गर्ने कुरामा म विश्वस्त छु,’– उनले भने ।

साथै, निर्वाचन आयोगको व्याख्याका कारण प्रमिला यादवलाई पनि पार्टीले उम्मेदवार बनाएको उनले बताए । आयोगको व्याख्यालाई लिएर देखिएको समस्या समाधान भएपछि जसपा र गठबन्धनको दलहरुले आफूलाई नै आधिकारिक उम्मेदवार घोषणा गरेको उनले बताए । ‘पुरुष, महिलाको बारेमा निर्वाचन आयोगबाट जुन व्ययाख्या भयो । त्यसकारणले प्रमिला यादवलाई पनि हामीले उठाएका थियौं । जब त्यसको निराकरण भयो, निर्वाचन अधिकृतको कार्यालयबाट र सर्वोच्च अदालतसम्म पनि उहाँहरुले रिट दायर गर्नुभयो । सर्वोच्च अदालतले दरपीठ गरिदियो निवेदनलाई । त्यसपछि चाहिँ हाम्रो प्रमिला यादवले प्रेस विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुभयो । गठबन्धनमा फेरि बैठक भयो र जनता समाजवादीका उम्मेदवार रायसहाय प्रसाद यादवलाई नै मत हाल्ने निर्णय भयो,’– यादवले भने ।

उपराष्ट्रपति चयनका लागि अहिले निर्वाचन भइरहेको छ । मतदानपछि आजनै नतीजा सार्वजनिक गरिने बताइएको छ । उपराष्ट्रपति निर्वाचनको मैदानमा नेपाली कांग्रेससहितको गठबन्धनबाट रामसहाय प्रसाद यादव, नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा रहेका छन् । मुख्य प्रतिस्पर्धीका रुपमा यादव र शाक्यलाई हेरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्