Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले ह्वीप जारी गर्ने



काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । ‘हालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रति सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा नेपालको संविधानको धारा ७६(२) बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली कांग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ,’–  कार्यसम्पादन समितिको बैठकको निर्णयमा भनिएको छ ।

साथै, प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेसमेत कांग्रेसले निर्णय गरेको छ । कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरिनेसमेत बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्