१० चैत, काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो ।
काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् । ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको छोरी एवम् वरिष्ठ सञ्चारकर्मी गृष्मा राजभण्डारीले बताइन् ।
२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय उनी पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् ।
ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा समर्पित थिइन् । ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।