Logo

राष्ट्रिय पार्टी बनाउन नसकेपछि विदेशका उदाहरण दिँदै अध्यक्ष नेपाल



काठमाडौं, १० चैत्र । गत प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राष्ट्रिय पार्टी बन्न चुकेको नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) नेतृत्वको सत्तागठबन्धन परिवर्तन भएपछि सलबलाएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तृष्ट हुँदै सोही पार्टीमा ओलीविरुद्धको गुट नेतृत्व गरिरहेका नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए। नेपालले एकीकृत समाजवादी गठन गर्दा आफ्नैसँग रहेका १४ सांसदहरु एमालेबाट लगेका थिए।

तत्‌पश्चात एमालेलाई सरकार बाहिर राख्दै नेपाली कांग्रेसका सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा नेपालको पार्टीले सरकारमा जाँदै विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको थियो।

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद्‍ विघटन कार्य असंवैधानिक भन्दै कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मनोनयन गर्न आदेश दिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका ७ पार्टीको सत्ता गठबन्धन निर्माण भएको थियो।

गत प्रतिनिधिसभाको निर्वाचनमा सरकारमै रहेको र निर्वाचनमा पनि गठबन्धन नै गरी होमिएको एकीकृत समाजवादी निर्वाचन परिणामपछि खुम्चिएको छ।

निर्वाचन परिणामपछि प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिक तर्फ निर्वाचन आयोगले बनाएको देशभरबाट ३ लाख मत पाए मात्र राष्ट्रिय पार्टी बन्ने मान्यता अनुसार लक्ष्य पाउन सकेन। मतपरीणाम लक्ष्यलाई भेट्न नसक्दा शून्य समानुपातिक सांसद्‍सहित राष्ट्रिय पार्टी बन्नबाट एकीकृत समाजवादी बञ्चित रह्यो।

राष्ट्रिय पार्टी बन्नबाट बन्चित रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले सो विषयमा समिक्षा गर्नु भन्दापनि यतिबेला बचाउमा उत्रेका छन्।

अध्यक्ष नेपालले पार्टी सानो हुनुमा देश बिदेशका राजनीतिक पार्टीहरुको उदाहरण दिई आफ्ना कार्यकर्ताहरुलाई उत्प्रेरणा दिईरहेका छन्।

अध्यक्ष नेपालले शुक्रबार काठमाडौंमा पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै विभिन्न देशका पार्टीका उदाहरण दिँदै कार्यकर्ताहरुमा आशा भरिरहेका छन्।

भारतमा कुनै बेला जम्मा ४ सीट जितेको भारतीय जनता पार्टी अहिले भारतको राजनीतिमा कहिले नहार्ने शक्ति भएको उनले आफ्ना कार्यकर्तालाई बताए। उनले त्यहीँकारण कुन पार्टीले कतिबेला कति सिट ल्यायो त्यो ठूलो कुरा नभएको कार्यकर्ताहरुलाई उदाहरण दिएर सम्झाए।

यस्तै, नेपालले अर्को उदाहरण दिँदै भने, ‘क्यानडाको राजनीतिमा सबैभन्दा बढी सीट ल्याएको पार्टी अर्कोचोटि शून्य ठाउँमा पुगेको छ। दुई सीट ल्याएको पार्टी शक्तिमा पुगेको छ। त्यस्ता दृष्टान्त धेरै छन्। अहिले हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचनमा चौथो स्थान हासिल गरेको छ। अहिले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले हाम्रो पार्टी चौथो स्थानमा रह्यो। तर, समानुपातिक मतको सम्म हिसाब जोड्दा हाम्रो पार्टी तल सातौं स्थानमा पुगेको छ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी १ लाख ३६ हजार जना संगठित सदस्य भएको र एक व्यक्तिले दुईजनालाई मनाउन सकेको भए एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने पुष्टि गरेका छन्।

‘तीन लाख मत कटाउन मुस्किल थिएन। हामीले सजिलै चौथो पार्टी बनाउनसक्थौं। हामीले रवि लामिछानेको पार्टीलाई उछिन्थौं। राप्रपा, जसपालाई उछिन्थौं,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्