Logo

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण



काठमाडौं, १२ चैत्र । सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको भ्रमण गरेका छन्।

एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्‍याएको उल्लेखनीय योगदानबारे जानकारी गराएका थिए।

प्रतिनिधि मण्डलसँग छलफलको क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपुर्ति गर्नका लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए।

साथै प्रतिनिधिहरूले बैंकले जलविद्युत परियोजनामार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे। महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरूको सशक्तिकरणकालागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समुहहरूको स्तर उन्नतीका लागि बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवैतर्फका प्रतिनिधिहरूले सो सम्बन्धी प्रतिक्रिया समेत आदानप्रदान गरे।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरीसकेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस्