काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू मन्त्री बन्ने दौडमा नभएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताले जिम्मेवारी दिएको खण्डमा नेतृत्वका लागि तयार रहेको र नत्र आफूले पद, पैसा र पावरको कहिले पनि लोभ नगरेको बताएका हुन् ।
‘म त्यस्तो दौडमा छैन । राजनीति गर्दै गएपछि पार्टीले दिने जिम्मेवारी आफ्नो ठाउँमा छ । नेताले सबैलाई न्याय गर्नुपर्छ भन्ने हो । नेताले न्याय गरेन भने कार्यकर्ता जान्छ कहाँ ? मैले पद, पैसा र पावरको कहिले पनि लोभ गरिन । पार्टी र नेताले जिम्मेवारी दिए भने हो । नत्र म मन्त्री बन्नका लागि दैलो–दैलो चाहिँ धाउँदिन,’– उनले भने ।
चुनाव जितेर आएपछि मन्त्रीको उम्मेदवारको प्रत्यासी हुनु स्वभविक भएको उनले बताए । आफू अहिले कांग्रेस बलियो बनाउनका लागि जिल्ला–जिल्लामा सम्मेलनहरुमा पुगिरहेको बताए । कांग्रेस बलियो नभएसम्म लोकतन्त्र बलियो नहुने उनले बताए । कांग्रेस बलियो भएको देख्न चाहने आफ्नो एउटामात्रै सपना भएको उनको भनाई छ । मन्त्री बन्नुमात्रै आफ्नो सपना भएको उनले बताए ।