Logo

मन्त्रालय टुङ्गो लागेपछि केही घण्टामै मन्त्रीको नाम दिन्छौं– जगन्नाथ खतिवडा



काठमाडौं, १४ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले अझै मन्त्रीहरुको नाम टुङ्ग्याउन सकेको छैन । आज बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने भनेपनि सिट बाँडफाँडका टुंगो नलागिसकेको भन्दै मन्त्रीहरुको नाम टुंगो नलागेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताको बारेमा बैठकमा व्यापक छलफल भएको बताए । सरकारमा सहभागी हुनका लागि पार्टीबाट विगतमा कार्यदल बनिसकेको र सोही कार्यदलको प्रस्ताव अनुसार अगाडि बढ्ने तयारी रहेको उनले बताए ।

‘हामीले सरकारको सहभागिताको बारेमा व्यापक छलफल गरेका छौं । यसको लागि विगतमा हामीले बनाएको कार्यदलले तत्काल एउटा प्रस्ताव हामीलाई प्रस्तुत गर्नेछ । जतिचाँडो प्रधानमन्त्रीले मन्त्रीहरुको नाम माग्नुहुन्छ । त्यति चाँडो बैठक बसेर हाम्रो पार्टीले नाम दिनेछ । सिट बाँडफाँडको अन्तिम टु्ंगो नलागेको कारण नामहरु दिन ढिलाई भएको हो,’– उनले भने ।

साथै, मन्त्रालय टुङ्गो लागेको केही घण्टामै मन्त्रीहरुको नाम दिनका लागि एकीकृत समाजवादी तयार रहेको उनले बताए । ‘मन्त्रालय टुङ्गो लागेको केही घण्टाभित्रै मन्त्रीहरुको नाम दिन हामी तयार भएर बसेका छौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने क्रम जारी छ । मन्त्रालयको भागबण्डा अझैं टुङ्गिसकेको छैन,’– खतिवडाले भने ।



प्रतिक्रिया दिनुहोस्