Logo

माओवादी नेता कुशवाहा जनमत पार्टीमा प्रवेश, बारा–२ मा उपेन्द्रलाई हराएरै छोड्ने उद्घोष



काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए र अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उनले बताए ।

‘पार्टीभित्र जनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिन,’– उनले भने ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको दाबी छ । सिके राउतको सम्मान स्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।

‘सिके राउत जी मधेशको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजीत हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावना विपरीत सत्ताबिना बाच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने ।

माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावनाविपरीत आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजेको उनले बताए । आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रह अनुसार जनमतमा प्रवेश गरेको उनले बताए ।

‘पार्टीभित्र म माथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चित गरेको छ । जनताको भावनाबाट बञ्चित गरेको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिए तर, मेरो जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावना अनुरुप जनमत रोजे,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्