Logo

संसद्मा रञ्जिताको प्रश्न– ‘पहिचान सम्मान हो की अपमान ?’



काठमाडौं, १५ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले पहिचान माग्दा पदम लिम्बुले ज्यान गुमाउनु परेको भन्दै आपत्ति जनाएकी छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिचानकै मुद्दा लिएर धेरै माननीय संसद् छिरेको भएपनि पहिचान माग्दा लिम्बुले भने मृत्युवरण गर्नु परेको भन्दै आपत्ति जनाएकी हुन् ।

‘पहिचान माग्दा झुठा मुद्दा लगाइन्छ । अनि कारागार कोचिन्छ । पहिचान माग्दा मृत्युवरण गर्नुपर्छ । पहिचानको आवाज बोलेर धेरै माननीयज्यू हरु यस संसद् भवनभित्र पस्न पाएका छौं । बोल्न पाएका छौं । म सम्पूर्ण माननीयज्यूहरुलाई प्रश्न गर्न चाहन्छु पहिचान सम्मान हो की अपमान हो ? पहिचनको पहरेदार पदम लिम्बुलाई मारेर सरकारले सहिद घोषणा गर्ने प्रयन्त गरेको छ,’– उनले भनिन् ।

पहिचावादीलाई सरकार आफैंले मारेर सहिद घोषणा गर्ने तयारीमा रहेको भन्दै उनले आपत्ति जनाईन ? ‘आफैंले मार्यो, स्वीकार्यो । सहिद घोषणा गर्यो । कति सहज छ है हाम्रो देश ?’ उनले प्रश्न गरिन् ।

अधिकार माग्दा सहिद हुनुपर्ने र जेल जानुपर्ने जस्ता घटना बढेको भन्दै उनले यसले लोकतान्त्रिक अभ्यासलाई नै गिज्याइरहेको बताइन् ।

साथै, कैलालीको टीकापुर आसपास २०५७ सालमा मुक्त भएका कमैयाहरुले बास नपाएको बारे उनले संसद्को ध्यानाकार्षण गरेकी छन् । गाँस, बास र कपासको व्यवस्था गर्ने जिम्मा राज्यको भएपनि त्यसमा राज्य चुकेको उनको आरोप छ । उनले मुक्त कमैया र कमलरीका लागि विशेष राहतको व्यवस्था गर्न पनि सरकार समक्ष आग्रह गरेकी छन् ।

‘०५७ सालमा मुक्त भएका कमैयाहरुले आजसम्म बास पाएका छैनन् । गास, बास कपासको व्यवस्था गर्ने कहाँ छ राज्य ? ०५७ सालदेखि टिकापुरको शक्तिनगर र शिवनगरमा बसेका कमैयाले बास कहिले पाउने हो ? कमैयाका बालबालिका विद्यालय जाने कहिले हो ? कमैया कमलरीहरुले रोजगारी पाउने कहिले हो ? सरकारले छिट्टै कमैयाको लागि विशेष राहतको व्यवस्था गरोस्,’– उनले भनिन् ।

 



प्रतिक्रिया दिनुहोस्