Logo

स्वर्णिम वाग्लेले गरे कांग्रेसबाट अलग भएको घोषणा



काठमाडौं १६ चैत । वरिष्ठ अर्थशास्त्री डा स्वर्णिम वाग्लेले औपचारिक रुपमा नेपाली कांग्रेस पार्टी त्यागेको घोषणा गरेको छन । आज सामाजीक सञ्जालमा स्टाटस लेख्दै आजको मितिबाट नेपाली कांग्रेससँगको आवद्धता त्यागेको घोषणा गरेको हुन ।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस

नेपाली काँग्रेसबाट अलग भएको घोषणा
वि. स. २०४२ सालको सत्याग्रहु र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

कांग्रेस त्यागेका वाग्ले बैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्धार बन्ने तयारीमा छन ।



प्रतिक्रिया दिनुहोस्