काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितहरुको माग समाधानका लागि सरकार अगाडि बढिसकेको बताएका छन् । आज (शनिबार) मिटरब्याज पीडितहरुसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने र दीर्घकालीन समाधानका लागि ऐन बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका हुन् ।
‘सरकार तपाईँहरुको माग समाधान गर्ने विषयलाई लिएर अगाडि बढेको छ । एकातिर दीर्घकालीन समाधान गर्न ऐन बनाउने, तत्काल समाधान गर्न उच्चस्तरीय आयोग बनाउने, तपाईँहरुको माग पुरै पुरा गर्ने पक्षमा छु म । यसमा ढुक्क भए हुन्छ,’– मिटरब्याज पीडितहरुसँग प्रधानमन्त्री प्रचण्डले भने ।
मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने र माग पुरा गर्ने काम सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने काम हो भन्ने आफ्नो बुझाई रहेको पनि उनले बताएका छन् । यो पटकको लडाई जितिनेमा कुनै शंका नलिन पनि उनले पीडितहरुलाई आग्रह गरे ।
‘यो समस्या समाधान गर्ने कुरा सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने कुरा हो भन्ने बुझेको छु मैले । यो एउटा ठूलो लडाइ हो । यो व्याटल हामीले जित्नुपर्छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
साथै मिटरब्याज पीडितका ६ बुँदे माग समाधानका लागि सरकार अगाडि बढ्ने उनले बताए । आफूले पीडितहरुको पक्षमा पहिलादेखिनै गम्भीरतापूर्वक काम गरिरहेको पनि उनले बताए ।