काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले जनताको बलिदानबाट निर्मित संविधानको सफल कार्यान्वयन र जनताको जीवनस्तर माथि उठाउन चुनौती रहेको बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको एघारौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा आइपरेका समस्या समाधानमा केन्द्रीत भएर दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान पुर्याउन आग्रह गरे ।
‘आज हाम्रा सामू जनताको बलिदानबाट निर्मित संविधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाई र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु छन्। यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
साथै, दीक्षित भएका विद्यार्थीहरूलाई प्राप्त गरेको ज्ञानबाट समाज र राष्ट्रको उत्थानमा योगदान पुर्याउनुका र आफ्नो दैनिक व्यवहार र व्यावसायिक जीवनसमेत प्रयोग गर्न उनले आग्रह गरे ।