Logo

दुई वर्ष अवधिको ठेक्का १८ महिनमा सम्पन्न, विश्व बैंकले अवार्ड दियो, राज्यले २७ वर्षसम्म भुक्तानी दिएन



काठमाडौं, २० चैत्र । दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.ली का सञ्चालक वसन्तबहादुर भुजेलले ठेक्का सम्पन्न भएको २७ वर्षसम्म सरकारले भुक्तानी नदिएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले २ वर्षको अवधिका लागि पाएको ठेक्का १८ महिनामा सकेपनि राज्यले २७ वर्षसम्म भुक्तानी नएको बताए ।

‘मैले डुम्रेबेशी सहर प्रोजेक्ट विश्व बैंकको लगानीमा पाँच वटा पुल र बाटो दुई वर्षको अवधि दिइएकोमा मैले १८ महिनामा पुरा गरें । विश्वबैंकले मलाई अवार्ड पनि दियो तर राज्यले मलाई अहिलेसम्म भुक्तानी दिएको छैन । आज २७ वर्ष भयो,’– उनले भने ।

राज्यले २७ वर्षदेखि ६८ करोडभन्दा बढी रकम भुक्तानी नदिँदा आफ्नो सबै व्यवहार विग्रिएको र शारीरिक र मानसिक रुपमासमेत विछिप्त हुन परेको उनले बताए ।

‘६८ करोड लगभगको मेरो विल हो । विश्व बैकको कन्सलटेन्टले भेरिफाई गरेर सरकारलाई दिएको छ । मलाई सरकारले ठूलो अन्याय गर्यो । म राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै अदालतमा गए । मलाई कसैले न्याय दिएन । अब पनि पैसा दिएन भने म विश्व बैंकमा गएर मुद्दा हाल्छु । अरु मान्छेले नसकेपछि सरकार र विश्व बैंकले मलाई बोलाएर ठेक्का सम्झौता गरेको हो,’– उनले भने ।

आफूले २०५२ सालमा सम्झौता भएको लमजुङ्ग जिल्लाको डुम्रवेशी शहर सडक तथा पुल निर्माणको भुक्तानी अहिलेसम्म नपाएको बताए । सरकारले भुक्तानी नदिँदा धितो जमानीमा रहेको सम्पत्तिसमेत बैंकले जफत गरेको उनले बताए ।

उनले तत्काल आफूले पाउनुपर्ने रकम र त्यसको क्षतिपूर्तिुसमेत सरकारले दिनुपर्ने बताए । आफूलाई छिटो भन्दा छिटो न्याय नदिएमा कडा संघर्षमा उत्रिनेपनि उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्