Logo

विगतका तितामिठा बिर्सिएर उपनिर्वाचनमा एकढिक्का हुन महामन्त्री शर्माको आह्वान



काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतका तितामिठा कुरा विर्सिएर उपनिर्वाचनमा एकढिक्का हुन आह्वान गरेका छन् । आज (सोमबार) चितवन– २ को चुनावी सभालाई सम्बोधन गर्दै उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एक ढिक्का हुन उनले सबै मतदाता र कार्यकर्ता समक्ष आग्रह गरेका हुन् । उपनिर्वाचनमा जीतनारायणलाई जीतको परिणाम दिएर पठाउन पनि उनले आह्वान गरे ।

‘नाम पनि जीतनारायण परिणाम पनि जीतनारायण बनाएर पठाउनुहोला भन्नका लागि हामी यहाँ आएका छौं,’– उनले भने ।

चितवन चेतनाको केन्द्र र विचारको राजधानी भएको उनले दाबी गरेका छन् । आगामी उपनिर्वाचनमा चितवनका मतदाताले विवेकको प्रयोग गर्ने उनले बताए । चितवनलाई आफ्नो पार्टीले नवीन ढंगबाट सोचिएरहेको उनको दाबी छ ।

‘मंसिर ४ मा जे परिणाम आयो, त्यो परिणामको हामीले आत्मसमीक्षा गरेका छौं । चितवन चेतनाको केन्द्र हो । विचारहरुको राजधानी हो । चितवनलाई नेपाली कांग्रेसले नवीन ढंगले सोच्ने छ । सम्हाल्ने छ र सँगै लिएर जानेछ,’– महामन्त्री शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्