Logo

नाटाका निवर्तमान उपाध्यक्षको आरोप– ‘गभर्नर अधिकारी कुनै पार्टीबाट निर्देशित हुनुहुन्छ’



काठमाडौं, २० चैत्र । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का निवर्तमान उपाध्यक्ष अच्युत गुरागाईँले अर्थमन्त्री र राष्ट्र बैंकको टसरले व्यवसायीहरु मारमा परेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र तत्कालीन अर्थमन्त्रीको टसरका कारण अहिले आर्थिक गतिविधिहरु उल्टो भइरहेको आरोप लगाएका हुन् ।

‘यहाँ राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्रीको टसरले आर्थिक गतिविधि उल्टो भईरहेको छ । उहाँको गल्ति छ । उहाँले एउटा पोलिटिकल पार्टीको निर्देशनमा आफ्नो पार्टीका अर्थमन्त्री हुदाँखेरी सहयोग गर्नुभयो । अर्को पार्टीको अर्थमन्त्री हुँदा उहाँलाई असफल बनाउन भरपूर कोसिश गर्नुभयो,’– उनले भने ।

नँया अर्थमन्त्रीलाई पनि गर्भनरले असहयोग गर्ने संकेत देखापरेको गुरागाईँले बताए । गभर्नर अधिकारी पार्टीबाट निर्देशित भएको उनको आरोप छ । गभर्नर अधिकारी रहन्जेल कांग्रेस र माओवादीबाट बनेका अर्थमन्त्री सफल नहुने उनको आरोप छ ।

‘गर्भनर कुनै पार्टीबाट निर्देशित हुनुहुन्छ । महाप्रसाद गर्भनर रहुन्जेल कांग्रेस र माओवादीका अर्थमन्त्री भए भने जसरी पनि अर्थमन्त्रीलाई असफल बनाउन लाग्छन् । उहाँलाई कहिकतैबाट घुमाई फिराई निर्देशित बनाई भूमिका खेलाईन्छ,’– उनले भने ।

व्यवसायी हरुले बारम्वार गएर बिन्ति विसाँउदा गर्भनरले दिने जवाफ शून्य रहेको उनको आरोप छ । केपी ओली र उनको सरकारले नियुक्त गरेको गर्भनर भएकाले उनी पार्टीबाट निर्देशित हो भनेर शंका गर्ने ठाउँ रहेको गुरागाईँको आरोप छ ।

व्यवसायीले गर्भनरलार्इं भेट्दा हामी समधान गर्न सक्दैनौ । सरकारले गर्ने हो भनेर पन्छिने गरेको उनको आरोप छ । गभर्नर अधिकारीले अहिले देशको स्थिती खराब भएको हुँदा सिङ्गल डिजिटको ब्याजदर आश नगर्न र खुरुखुरु ब्याज तिर्न भनेको उनको दाबी छ ।

राष्ट्रबैंकले बैंकहरुलाई रातारात कमाउन दिईरहेको उनको अरोप छ । बैंक हरुले व्यवसायीहरुलाई रातारात ९ प्रतिशतमा एग्रिमेन्ट भएको लोनको १२ प्रतिशत, र १२ प्रतिशतमा एग्रिमेन्ट गरेकोमा १५ प्रतिशत ब्याज पुर्याएर म्यासेज पठाउँदा पनि नियमक निकाय राष्ट्र बैंक मौन बसेको उनको गुनासो छ ।

‘बैंक हरुले व्यवसायीहरुलाई रातारात म्यासेज गर्छन ९ प्रतिशतमा एग्रिमेन्ट गरेको १२प्रतिशत, १२ प्रतिशतमा एग्रिमेन्ट गरेको १५ प्रतिशत ब्याज पुगेको म्यासेज आउछ । राष्ट्रबैंकलाई गुर्हान जाँदा अहिलेको परिस्थितिनै यस्तै छ जसरी भएनी तपाईहरुले तिर्नुपर्छ । अहिले बैंकहरुलाई धनी बनाउन राष्ट्रबैंकले सेटिङमा काम गरिरहेको छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्