काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले सरकारले अयोग्य लडाकुलाई प्रदान गर्न भनिएको रकमलाई लिएर आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले अयोग्य घोषणा भइसकेका लडाकुलाई दिने रकम विदेशमा अंगभंग भएर नेपाल फर्किएका र विदेशमा मृत्यु भएकाहरुको परिवारलाई राहत स्वरुप दिन आग्रहसमेत गरेका छन् ।
‘सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाड्न थालेको छ । अयोग्य भइसहेको लडाकुलाई पनि पुनः बाड्न थालेको छ । त्यो करोडौं पैसा जो बाकसमा आएका छन्, जो अंगभंग भएका छन् त्यो परिवारलाई, तिनका आमा बुबालाई, तिनका विधवा श्रीमतीलाई र तिनका बच्चाको पढ्न र लेख्नका लागि त्यो राहत बाँड्दियो भने यो सरकारको जयजयकार हुनेछ,’– उनले भने ।
विदेशमा गएर नेपाली कामदारहरुले पैसा नपठाएको भए नेपाल श्रीलङ्का र पाकिस्तान भन्दा पहिला नै असफल राष्ट्र बन्ने उनले टिप्पणी गरे । वैदेशिक रोजगारीमा गएका कामदारले पैसा नपठाएको भए सांसदहरुले तलब भत्तासमेत खान नपाउने उनले बताए ।
‘हाम्रा भाई बहिनीले विदेशबाट पैसा नपठाएको भए श्रीलङ्का भन्दा पहिला, पाकिस्तान भन्दा पहिला सफल राष्ट्र नेपाल भइसक्थ्यो । आज ती हाम्रा भाई बहिनीहरु विदेशमा काम गर्दाखेरी अंगभंग भएर घर फर्केका छन् । दिनको १० १५ वटा बाकसमा सुतेर आइरहेका छन् । त्यो पक्षमा यो सरकारले के सोचेको छ ?’– उनले प्रश्न गरे ।