काठमाडौं,२३ चैत । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनजीविकाको विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा भइरहेको ढिलाइको विषय उठाएका छन् भने जनजीविकाको सन्दर्भमा विभिन्न विषयहरू पनि उठाएका छन्।
बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले २०२० सालमा मातातीर्थ हुँदै काठमाडौँको टेकुसम्म ४२ किलोमिटर रोपवयका संरचना व्यवस्थापन गर्न माग गरे । उनले सञ्चालनमा आएर २०५६ सालमा बन्द भएको २३ वर्षसम्म त्यसको संरचना उस्तै रहेको भन्दै राज्यको करोडौंको सम्पत्ति संरक्षण गर्न सरकारसँग माग गरे ।
सांसद विमला सुवेदीले काठमाडौँको वाइपास, रानीपैवा, तीन पिप्ले, नुवाकोटको त्रिशूली जोड्ने पासाङ ल्हामुराजमार्ग सबै भन्दा पुरानो राजमार्ग ठोक्का तोड्दा अलपत्र भएको बताइन् । उनले काठमाडौँ र नुवाकोट जोड्ने महत्त्वपूर्ण सडक भएको कारण उक्त आयोजनाको बाँकीकार्य तत्काल पुरा गर्न माग गरिन् ।
राप्रपाका सांसद बुद्धिमान तामाङले बुढीगण्डकी जलविद्युत आयोजनाको कारण तत्काल तटीय क्षेत्रमा स्वास्थ्य,शिक्षा,नहर,खानेपानीको सुविधा उपलब्ध गराउन माग गरे । उनले आयोजनाको काम राष्ट्रिय हित हुने गरी अगाडि बढाउन माग पनि गरे ।
नेकपा माआवादी केन्द्रका सांसद माधव सापकोटाले आर्थिक वर्षको सुरुमा महिनामा तोकिएको खर्च गर्ने र अन्तिममा चौमासिकमा हुने ठूलो खर्च सरकारले निरुत्साहित गर्नुपर्ने बताए । उनले चालु आर्थिक वर्ष सकिन लाग्दा समेत करिब २५।८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखाको तथ्याङ्कले देखाएको बताए । उनले सरकारको पुँजीगत खर्च अन्तिम महिनाको जेठ र असारमा ६० प्रतिशत खर्च हुने भएको भन्दै विकास बजेट खर्च नभएर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रमा उचित नभएको बताए ।
त्यस्तै अर्का सांसद मानवीर राईले पर्यटकीय जिल्ला सोलुखुम्बु जाने सडक कालोपत्र उक्किएको भन्दै तत्काल कालोपत्र गर्न सरकारसँग माग गरे । उनले विश्वका पर्यटकहरु सडकमार्ग मार्फत जाने बाटो बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्र कुमार केसीले काठमाडौँ उपत्यकाबासी राष्ट्रिय राजमार्गको कारण मारमा परेको बताए । उनले सडक निर्माण गर्दा ५० मिटर जग्गा छोड्नुपर्ने व्यवस्थाले कालिमाटी कलंकी क्षेत्रका नागरिक विस्थापित हुने बताए । उनले फराकिला सडक बनाउँदैमा ट्राफिक व्यवस्थापन हुन नसक्ने बताए ।
राप्रपा सांसद रोसन कार्कीले दुई पटक विश्रासको मत पाएको सरकारलाई मिटरब्याजपीडितले विश्रास गर्न नसकेको भन्दै सरकारलाई ब्यंग्य गरेकी छन् ।
सांसद रामहरी खतिवडाले ओखंलढुंगामा अझैपनि खरको छाना हट्न नसेको भन्दै तत्काल खरको छाना हटाई जस्तापाता उपलव्ध गराउन माग गरेका छन् ।
त्यस्तै सांसद रुपा विकले आर्थिक क्षेत्र धरासायी बन्दा व्यवसायीलाई मार परेको भन्दै यो समस्या समधान गर्न माग गरिन् उनले तत्कालै अर्थतन्त्रमा आएको समस्या हलगर्न नसक्ने हो भने नेपालले पनि श्रीलंकाको हालत भोग्ने अवस्था आउने बताईन ।