काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) की सांसद इश्वरी घर्तीले १० वर्षे सशस्त्र द्वन्द्वबाट रोल्पालीले के पाए ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् । अहिले रोल्पा अशिक्षा र गरिबीको हब बनेको उनको दाबी छ । द्वन्द्वकालमा बुर्जुवा शिक्षा भन्ने नेताहरुले शान्ति प्रक्रिया पछि आफ्ना छोराछारीलाई महगो स्कुलमा पढाएर रोल्पाली जनतालाई सर्टिफिकेटबाट बञ्चित बनाएको उनको आरोप छ । साथै, अहिले रोल्पालीहरुको समस्या बुझ्न रोल्पा पुग्नै नपर्ने उनले बताईन् ।
उपत्यकामा रहेको ईटा भट्टा र एयरपोर्टमा गएर हेरे रोल्पाको चित्र प्रष्ट हुने उनको भनाई छ । रोल्पामा शिक्षा, स्वास्थ्य, सडक र द्वन्द्व पीडितहरुको विकारल समस्या रहेको उनले बताईन् । १० वर्षे सशस्त्र द्वन्द्वमा रोल्पाले ठूलो मानवीय जनधनको क्षती र अहिलेसम्म विकासको लयमा फर्कन नसक्ने गरी थुप्रै क्षति ब्यहोरेको उनले बताईन् ।
१० वर्षे द्वन्द्वलाई उचाईमा पुर्याएका रोल्पालीहरुको अपेक्षा शान्ति प्रक्रिया पछि पुरा हुन नसकेको उनले बताईन् ।
‘रोल्पालीहरुलाई अपेक्षा र विश्वास थियो, १० वर्षे द्वन्द्वलाई त्यो उचाईसम्म पुर्याएको रोल्पा र रोल्पालीहरुले हो । त्यसैले द्वन्द्वका क्रममा पाएको आश्वासन शान्ति प्रक्रियापछि पुरा हुनेछन् । रोल्पालीहरुको आर्थिक सामाजिक अवस्था बदलिने छ भन्ने रोल्पालीहरुको सपना थियो । ती आश्वासनहरु कता र किन हरायो ?– उनले प्रश्न गरिन् ।
द्वन्द्वका कारण केही नेताहरुको आर्थिक समाजिक र राजनीतिक हैसियत एकाएक चुचुरोमा पुगेपनि रोल्पाली जनताहरुको अवस्था विकराल रहेको र त्यतातिर सरकारको ध्यानाकार्षण हुन आवश्यक रहेको उनले बताईन् ।