Logo

कांग्रेस प्रमुख सचेतकलाई धमलाको प्रश्न– सभामुखमाथि महाअभियोग ल्याउन लागेको हो ? (भिडियोसहित)



काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् चलाउने कुरामा सत्ता पक्ष सबैभन्दा धेरै विवेकशील, लचिलो र संवेदनशील रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार सञ्चालनको सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर गइरहेको र त्यसमा पनि आफूहरु अत्यन्तै संवेदनशील भएर लागिरहेको बताएका हुन् ।

प्रतिनिधि सभा नियमावली पास गर्दासमेत संसद्मा उपस्थितमध्ये एकजना सांसद बाहेक सबै सहमतिमा आएको स्मरण गर्दै उनले यसले सत्ता पक्ष अतयन्त लचिलो र संवेदनशील छ भन्ने कुरा पुष्टि गरेको बताए । ‘सरकार सञ्चालनको सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष हामी मिलेर गइराखेका छौं । सत्ता पक्ष सबैभन्दा बढि लचिलो, सबैभन्दा ज्याद विवेकशील र सबैभन्दा ज्यादा संवेदनशील भएर संसद् चलाउने कुरामा अगाडि बढिराखेको छ भन्ने कुरा देखिएको छ,’– उनले भने ।

साथै, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो प्रतिनिधि सभाका सभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने गठबन्धन दलको कुनै चाहना नभएको उनको दाबी छ । आफूहरु संसद् र सकारमासमेत सहमतिको वातावरण निर्माणका लागि तत्पर रहेको उनको भनाई छ ।

‘माननीय केपी ओलीजी जस्तो नेता, जसलाई मैले अत्यन्त आदार र सम्मान गर्छु, विवेकशील र देशको धेरै ठूलो नेताले यसरी अनुमान गर्न भएन । त्यो रणनीति भएको भए त प्रतिनिधि सभामा प्रकट हुन्थ्यो होला नि त ? हामी झन ज्यादा समहतिका साथ अगाडि गइराखेका छौं,’– उनले भने ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको उनको दाबी छ । एमाले अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिनुले विभिन्न शंका उपशंकाको उब्जिएको उनले बताए । उनले सत्ता पक्षलाई उत्तेजित बनाएर संसद्मा असहज परिस्थिति ल्याउन खोजेको लेखकको आरोप छ ।

‘पहिलो कुरा त केपी शर्मा ओलीजस्तो नेताले यस्ता खाल्का अनर्गल र आधार नै नभएका अनुमानहरु गरेर सत्ता पक्षलाई उत्तेजित गरेर संसद्मा उहाँले असहज परिस्थिति ल्याउने ढंगले बोल्न उचित हुन्न भन्ने पहिलो कुरा हो,’– उनले भने ।

साथै, एमाले अध्यक्ष ओलीले सभामुखलाई प्रयोग गरेर सत्तापक्ष आक्रोशित हुने काम त गराउँदै छैनन् भन्ने आशंका पनि उब्जिएको उनको दाबी छ । सत्ता गठबन्धनमा रहेका दलहरुमा सभामुखमाथि महाअभियोगको प्रस्ताव ल्याउने बारेमा कुनै कारण, अवस्था र उद्देश्य नभएको उनले प्रष्ट पारे ।

‘उहाँ (ओली) ले सभामुखबाट काही यस्तो काम गराउने सोच त गरिरहनु भएको छैन, जसले सभामुखप्रति सत्तापक्ष आक्रोशित हुनुपर्ने अवस्था बनोस् । उहाँले आफूले गर्न खोज्नु भएको हो कि ? ओलीजीले जे भनिरहनु भएको छ, हामीले त्यो सोचेका पनि छैनौं । गरेका पनि छैनौं । चाहना पनि छैन । हाम्रो गर्नुपर्ने कुनै कारण, खण्ड, अवस्था र ृउद्देश्य केही छैन,’– लेखकले भने ।



प्रतिक्रिया दिनुहोस्