Logo

सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रम ‘कागजी घोडा’ मात्रै



काठमाडौं, २४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले गठबन्धन सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रम यथास्थितिलाई बदलाव ल्याउन अपूर्ण र भागबण्डामात्रै सीमित रहेको टिप्पणी गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल भएको उनको आरोप छ ।

देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न नसेकोको उनले उल्लेख गरेका छन् । १० दलीय सत्ता गठबन्धनले अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरेको उनको आरोप छ ।

अघिल्लो गठबन्धनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाएर कानुनको कठघरामा उभ्याउने विश्वास नागरिकलाई दिएको स्मरण गर्दै उनले यसपटक यति गम्भीर विषयलाई कदम चाल्नेमात्रै भनेर सामान्यीकरण गरिएकोमा आपत्ति जनाएका छन् ।

‘साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका छ जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’ मात्रै हुने ठोकुवा गर्न सकिन्छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्