Logo

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई बालकृष्ण खांणको आग्रह



काठमाडौं,२६ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खांणले राष्ट्रपति रामचन्द्र पौडेललाई विवादित नागरिकता विधेयक प्रमाणीकरण गरि लाखौ अनागरिक व्यक्तिलाई न्याय प्रदान गर्न आग्रह गरेका छन् ।

आज विहान प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खांणले सार्वभौम संसद्ले दुई -दुईपटक पारित गरेको नागरिकता विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राजनैतिक पूर्वाग्रहको कारण प्रमाणीकरण नगरेको भन्दै अहिलेका राष्ट्रपतिले नागरिकको मौलिक हकसँग जोडिएको विषय भएको कारण तत्काल प्रमाणीकरण गरेर न्याय प्रदान गर्नुपर्ने बताए ।

“अनागरिकलाई पनि नागरिकता दिनेगरी राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक स्वीकृत गर्नका लागि, प्रमाणीकरण गर्नका लागि म यो जनकपुरको नेपाली कांग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरुलाई आग्रह गर्दछु–त्यो वातावरण गराउनुहोस्,” उनले भने, “र, सरकारले, राजनीतिक दलहरुले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणीकरण गरियोस् । र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा । उनीहरुलाई नागरिकता दिने कामको थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।”

यसैवीच नेता खांणले बैशाख १० मा हुने उपनिर्वाचनपछि सातै प्रदेशमा सत्ता गठवन्धनकै सरकार बन्ने दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्