काठमाडौं २६ चैत्र । पूर्वमाओवादीमा रहदाँ सँगै सशस्त्र जनयुद्धदेखि शान्ति प्रक्रियासम्म सँगसँगै रहेका पूर्वमाओवादीका शिर्षनेताहरु यतिबेला सुदूरपश्चिममा देखिएका छन्।
नेकपा (माओवादी केन्द्रका) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहका लागि सुदूरपश्चिम पुग्दा उनकै पूर्वसहयात्री तथा अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईभने कर्णाली नदीमा र्याफ्टिङ्मा रमाइरहेको तस्बिर सार्वजनिक भएको छ।
भट्टराई किन सुदूरपश्चिम पुगेका हुन् भन्ने उनको सचिवालयले औपचारिक कुनै जानकारी नगरेतापनि सुदूरपश्चिमको प्रवेशद्धार मानिएको पर्यटकीयस्थल चिसापानीस्थित कर्णाली नदीमा आइतबार र्याफ्टिङमा रमाइरहेका देखिएका छन्।
यस्तै, प्रधानमन्त्री प्रचण्डभने सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहका लागि धनगढीस्थित गेटा विमानस्थलबाट सिधैं पूर्वसहकर्मी तथा केही वर्ष अगाडिमात्रै एमाले प्रवेश गरेका सचिव लेखराज भट्टको घर पुगेका थिए।
प्रचण्डकै नेतृत्वमा विभिन्न पटक माओवादीबाट मन्त्रीसमेत बनेका भट्ट माओवादीमा रहँदा प्रचण्डका सुदूरपश्चिम कमाण्डरसमेत थिए।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि प्रचण्ड पहिलो पटक भट्टको घर पुगेका हुन्।
प्रचण्डको सचिवालका अनुसार भट्टकै निमन्त्रणामा प्रचण्ड गेटास्थित उनको घरमा पुगेका हुन्। उनीहरुबीचको भेटमा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको बताईएको छ।
प्रचण्डले भट्टसँग भेटेर निस्किने क्रममा सो घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको र घरको माथिल्लो तलामा आफ्नो कोठासमेत रहेको खुलासमा गरेका थिए।
कैलालीको पर्यटकीयस्थल चिसापानीस्थित कर्णाली नदीमा आइतबार र्याफ्टिङ गर्ने क्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिरः झलनाथ खनाल/रासस
तस्बिर : प्रदिपराज वन्त
तस्बिर : समाजिक संजालबाट