Logo

‘माधव नेपालको पार्टीले आत्मसमर्पण नगर्ने’



काठमाडौं, २७ चैत्र । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो (आइतबार) मन्त्रिपरिषद् विस्तार गरे । गत चैत्र १२ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका दलबीचमा भागबण्डा मिलाउन सकस भएको छ । हिजोको मन्त्रिपरिषद् विस्तारमा उनले नेपाली कांग्रेसबाट दुई जना मन्त्री नियुक्त गरे भने सत्ता गठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी) लाई सहभागी गराएनन् । बागमतीमा नेकपा (एस) ले तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ ।

नेकपा (एस) का बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सरकारमा सहभागी हुनका लागि आत्मसम्मान हुनुपर्ने बताए । आत्मसम्मान हुने गरी निर्णय नभएमा आफूहरु सरकारमा सहभागी नहुनेसमेत उनले बताए । बागमतीमा कसैको बहुमत नभएको स्मरण गर्दै उनले आफूहरु आत्मसमर्पण गरेर सरकारमा नजाने बताएका हुन् ।

‘सरकारमा जानका लागि पहिला आत्मसम्मान हुनुपर्यो । बहुमत कसैको छैन । कसैले एकल बहुमत छ जस्तो गरेर देखाउँछ भने आत्मसमर्पण गर्न हामी जाँदैनौं । कुराकानी भइराखेको छ । हाम्रो आत्मसम्मान भयो भने हामी एकदुई दिनमा जान्छौं । नत्र भने नजान पनि सक्छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै शर्माले भने ।

बागमतीमा आफूहरुको दाबी स्वभविक भएको उनले बताए । तीनवटा मन्त्रालयमा दाबी भएपनि दुईवटा मन्त्रालयसम्म समझदारी बनेको खण्डमा आफूहरु सरकारमा सहभागी हुने उनले बताए । जनतासँग प्रत्यक्ष सरोकार भएका मन्त्रालय अरुलाई दिएर छोडेको मन्त्रालयमा लिएर पनि आफूहरु सरकारमा नजाने उनको भनाई छ ।

‘हामीले स्वभविक रुपमा दाबी गरेका हो । कसैको बहुमत छैन । हामीले तीन वटा मन्त्रालय मागेका हौं । दूईवटासम्ममा हामी सरकारमा जान्छौं । मन्त्रालयमा पनि जनतासँग नेटवर्क भएका मन्त्रालय र प्रत्यक्ष सम्बन्ध भएको मन्त्रालय लिइसके पछि छोडेको मन्त्रालय लिएर पनि हामी सरकारमा जाँदैनौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्