Logo

नेकपा (एस) छाड्नेको लहर, विभाजनको औचित्य पुष्टि नहुँदै माधव नेपाल संकटमा



काठमाडौं,२८ चैत । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा पार्टी परित्याग गरी नेकपा (एमाले) मा फर्किएका छन् । उनीमात्रै होइन, पछिल्लो समय नेकपा (एस) का नेता-कार्यकर्ता धमाधम आफ्नो पुरानै घर फर्कन सुरु गरेका छन् ।

गत २५ गते पार्टीमा तेस्रो वरियतामा रहेका नेता मुकुन्द नेउपानेले विद्रोह गर्दै पार्टी परित्यागको घोषणा गरे । केही दिन अघिमात्रै पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पनि पार्टी परित्याग गरेका थिए । त्यस अघिनै २०७९ भाद्र २० मा सिंगो गुल्मी जिल्ला कमिटी र कातिक २१ गते जुम्ला जिल्ला कमिटी एमालेमा समाहित भएको थियो । त्यसैगरी गतहप्ता दाङ क्षेत्र नं १ को नेकपा (एस) को कमिटी औपचारिक रुपमा पुरानै घर समाहित भएको छ ।

२०७८ भाद्रमा एमालेमा चरम अवसरवाद हावी भएको, अध्यक्ष ओलीको एकलौटीपनाले सिमा नाघेको, पार्टी पार्टीजस्तो नभएर ओलीको प्राइभेट कम्पनी भएको, एमाले दक्षिणपन्थी बाटोमा हिडेको, गुट उपगुटलाई प्रश्रय दिएको लगायतका कयौं आरोप लगाउँदै तत्कालीन एमालेमा रहेको झण्डै २५ प्रतिशत कार्यकर्ता लिएर ७८ को भाद्र २ गते नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल पार्टी विभाजनको औचित्य पुष्टि नहुँदै संकटमा परेका छन् ।

एमाले फुटाएर नेकपा (एस) बनाउन सबैभन्दा बढि भूमिका निर्वाह गरेका नेताहरुले नै पछिल्लो समय माधव नेपाललाई क्रमश धोका दिईरहेका छन् । पार्टीबाट विद्रोह गर्नेबेला माधव नेपालको हात समाएर दरिलो साथ दिएकी पार्टी सचिव रामकुमारी झाँक्रीनै पछिल्लो समय अध्यक्ष नेपालको कठालो समाउने तहमा पुगिसकेकी छन् ।

एमाले अध्यक्ष ओलीलाई गालीइ गरेर नथाक्ने झाक्री आजभोलि खुलम्खुल्ला एमालेमा पार्टी विलय गर्नु बाहेक अर्को विकल्प नरहेको अभिव्यक्ति दिँदै आएकी छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा कयौ भाषणहरुमा माधव नेपालले भनेका थिए ‘यो आम निर्वाचनमा हाम्रो दल नेकपा एस २० लाख समानुपातिक मतसहित पहिलो हुन्छ । कांग्रेस, माओवादी दोस्रो, तेस्रो र ओली कम्पनिको एमाले चौथो हुन्छ ।’ तर, परिणाम ठ्याक्कै उल्टो आयो उनले चौथो हुन्छ भनेको एमाले समानुपातिकतर्फ पहिलो र समग्रमा सम्मानजनक हैसियतसहित दोस्रो भयो । नेकपा (एस) ले भने ३ लाख समानुपातिक मतसमेत पुर्याउन सकेन । गठबन्धनको बैशाखीले प्रत्यक्षमा जितेका १० सांसद भएर पनि अध्यक्ष नेपालले नेकपा (एस) लाई राष्ट्रिय दल बनाउन सकेनन् ।

प्रतिनिधिसभा निर्वाचनको सात महिना अघिमात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्को चौथो शक्ति बन्यो । २०७४ मा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४ सिटसहित पाँचौ शक्ति बनेर उदायो । नेकपा (एस) राष्ट्रिय दलसम्म बन्न सकेन । पार्टी गठन हुँदा देखिएको उत्साह,उमंग र लक्ष्य पार्टी नेतृत्वले विस्तारै भुल्दै गएको आरोप कार्यकर्ताहरुको रहेको छ । पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी चरम अवसरवादमा लागेको एक थान मन्त्री र सांसदको लागि सिद्धान्त नमिल्नेहरुसँग गठबन्धन गरेको आरोपसहित पार्टी परित्याग गरे । उनी पछिल्लो समय पार्टीमा निरन्तर फरक मत राख्दै आएका नेता थिए ।

अध्यक्ष नेपालको कार्यशैलीप्रति कार्यकर्तामात्र होइन, स्वयं पार्टीको दोस्रो वरियताका नेता झलनाथ खनाल, सचिव झाक्री, नेताहरु घनेन्द्र बस्नेत, सांसहरु किसान श्रेष्ठ, धनबहादुर बुढादेखि प्रेम आलेसम्म असन्तुष्ट छन् । एकातिर पार्टीमा तीब्र असन्तुष्टि बढ्दै जानु र अर्कोतर्फ पार्टीका प्रभावशाली नेताहरु धमाधम एमालेमै फर्कन थालेपछि नेकपा (एस) को भविष्य अन्यौलमा परेको छ । यही रफ्तारमा पार्टीभित्र असन्तुष्टि बढ्दै जाने, नेताहरुले पार्टी परित्याग गर्दै जाने हो भने आगामी आम चुनावसम्म पार्टीको अस्तित्व नै सकिने त होईन ? भन्ने प्रश्न चिन्ह खडा भएको छ ।



प्रतिक्रिया दिनुहोस्