Logo

युवा संघलाई चुनौति दिनसक्ने कुनै संगठन छैन– क्षितिज थेबे



काठमाडौं, २ वैशाख । युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको दाबी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको नेतृत्व कुशल र सफल रहेको बताए ।

‘पछिल्लो समय नेपाली राजनीतिमा वितृष्णा छाउने, नेताहरुको अगाडि तथा पछाडि हिँड्ने मान्छेमात्रै राजनीतिमा हालिमुहाली हुने, भूगोलमा र संगठनमा काम गरेका मान्छेहरुलाई कहिल्यैपनि न्याय नमिल्ने भनेर आलोचना भएपछि हामीले पहिलो चोटी राष्ट्रिय युवा संघको महाधिवेशनमा ७७ वटै जिल्लामा सदस्यता वितरण गर्यौंं,’– उनले भने ।
एमालेविरुद्ध विभिन्न राजनीतिक शक्तिहरुले लामो समयदेखि घेराबन्दी गरिरहेको उनको आरोप छ । गत आम निर्वाचन, राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचनमा अन्य राजनीतिक दलहरुले एमालेविरुद्ध घेराबन्दी र आक्रमण गरेको उनको भनाई छ ।

उनले देशमा राष्ट्रियताको पक्षमा एकमात्रै अडान लिने दलको रुपमा एमालेलाई चित्रण गरे । उनले भने,‘एकमात्रै दल, राष्ट्रियताको पक्षमा अडान लिएर अगाडि बढेको एमालेलाई पछिल्लो समय नियोजित ढंगले घेराबन्दी गरियो । यसविरुद्ध अब नेपालकै सबैभन्दा ठूलो संगठन, क्रियाशील र उर्जाशील संगठन, नेपालको युवाहरुको नीति र मुद्दा उठान गर्ने राष्ट्रिय युवा संघले घेराबन्दी तोड्न सफल छ, सक्छ । त्यही भएर सर्वसम्मत् ढंगले नेतृत्व चयन भयो । यो नवौं महाधिवेशनको पहिलो सन्देश पनि हो।’

नवौं महाधिवेशनले देशभरका युवाहरुलाई एक बनाउने काम गरेको अध्यक्ष थेबेको भनाई छ । आन्दोलनका क्रममा र सबै क्षेत्रमा आन्दोलनको बाघ बनेर अगाडि बढ्ने एकमात्रै संगठन युवा संघ भएको उनको दाबी छ । युवा संघ नेपालको प्रतिष्पर्धी संगठन अरु कोही पनि नभएको उनको दाबी छ । उनले अहिले युवा संघ युवाहरुको मुद्दामा एक्लै निरन्तर लागिरहेको स्पष्ट पारे ।

‘हाम्रा प्रतिष्पर्धी मित्र संगठनले हामीलाई चुनौति दिन खोजेको भए हाम्रो स्पिड अझै बढ्थ्योजस्तो लाग्छ । तर, कस्तो भयो भने एउटा रेसिङ बाईक कुदिराखेको छ तर पछाडि साइकल चलाउने बच्चाले कुदाएको स्पिडको कम्पिटिसन जस्तो भयो । आफूमात्रै एक्लै रेसमा हुँदा धेरै अगाडि बढेजस्तो लाग्छ तर केही छैन, हामी युवाहरुको विषयमा हामी एकदमै संवेदनशील छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्