काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईंहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’
‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ’ प्रधानमन्त्रीले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’
प्रधानमन्त्रीले भने, ‘यसअघि राजस्व घटेकाे थियो, चोरीपैठारी बढेको थियो। अर्थतन्त्र संकटमा थियो। तर अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो।’