Logo

चितवनको विकासमा क्रान्ति आउने छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताएका छन्।

लोकतान्त्रिक–वाम गठबन्धनले बिहीबार कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले काठमाडौं–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताएका हुन्।

उनले भने, ‘शक्तिखोरको औद्योगिक क्षेत्र मैले नै प्रस्तावित गरेको हुँ, म अहिले प्रधानमन्त्री भएको बेलामा यसलाई सम्पन्न गर्ने काममा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’ उनले औद्योगिक क्षेत्रको काम छिट्टै अघि बढ्ने बताउँदै भने, “चितवन क्षेत्र नं २ मा जीतनारायण श्रेष्ठ निर्वाचित भएर गएपछि यसलाई अघि बढाइने कुरामा उनको भूमिकालाई पनि बढाइने छ।’

अघिल्लो बजेट भाषणमा काठमाडौँबाट चितवन एकदेखि डेढ घन्टाभित्र आउने गरी द्रुतमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘त्यसलाई सम्पन्न गर्ने कुराले चितवनको सम्पूर्ण विकासमा सम्पूर्ण क्रान्ति आउने छ भन्ने मेरो विश्वास छ।’

अघिल्लो निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि त्यस क्षेत्रमा विकास निर्माणमा के–के सहयोग गरेँ भन्ने कुरा सबैले देखेको भन्दै उनले अगाडि थपे, ‘भरतपुर महानगरपालिका अहिले कहाँबाट कहाँ पुग्यो ? तपाईंहरूले देख्नुभएको छ।’

यहाँका ठूला विकास निर्माणमा आफ्नो ध्यान पुगेको भन्दै उनले भने, ‘म अर्को जिल्लाको जनप्रतिनिधि भए पनि प्रधानमन्त्रीको हिसाबले विमानस्थल विस्तारको कुरा होस्, गौतमबुद्ध क्रिकेट रङ्गशालाको कुरा होस्, चाहे शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाउने कुरा होस्, चाहे नारायणी र राप्तीमा तटबन्धन निर्माण अगाडि बढाउने कुरा सबैमा मेरो ध्यान पुगेको छ।’



प्रतिक्रिया दिनुहोस्