Logo

शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टैे सम्पन्न गरिने बताएका छन्।

चितवनको निर्वाचन क्षेत्र नं.-२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्रीले भने, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छुु। यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं।”

सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गरे। उनले भने, “कहिलेकाहिँ खहरे खोला पनि उर्लिएर आउँछ। त्यो छिट्टै सुक्छ। तर, नदी सदाबहार हुन्छ। केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ। तर अहिले बिस्तारै सुक्दैछ। मतदाताहरू लयमा फर्किंदैछन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू विशाल नदी हुन्। यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन्।”

“जीतनारायण श्रेष्ठ चितवन-२ का लागि सबैभन्दा योग्य उम्मेदवार हो” प्रधानमन्त्रीले भने, “चितवनलाई राम्रोसँग बुझेको, यहाँका जनतासँग भिजेको उम्मेदवार उहाँ नै हो। उहाँ कांग्रेसको मात्र नभएर गठबन्धनको साझा उम्मेदवार हो। जीतनारायणलाई जिताएर पठाउनुस्, चितवनको विकासमा महत्त्वपूर्ण सहयोग गर्छौं।”

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकोमा प्रधानमन्त्रीले जोड दिँदै भने, “हामीले गठबन्धन गरेर लोकतन्त्र र संविधानविरोधी शक्तिलाई हरायौं। संसद विघटन गर्ने प्रवृत्तिलाई सडकबाट पराजित गर्‍यौं। त्यसकै आधारमा अहिलेको गठबन्धन बनेको हो। सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर गठबन्धन सरकार अगाडि बढिरहेको छ। यो गठबन्धन अझै सुदृढ बन्दै जान्छ। एकतावद्ध भएर मुलुकका चुनौती छिचोल्दै विकास र समृद्धिलाई तीव्रता दिन्छौं।”

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतलेे विजयी गराउन चितवनबासीलाई अपील गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले सम्बोधन गरेका थिए।



प्रतिक्रिया दिनुहोस्