Logo

भारतीय नागरिकको सेनाद्वारा उद्धार



काठमाडौं, ७ बैशाख। नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौं ल्याएको छ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परि हराइरहेका थिए।

अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उहाँको आज बिहान उद्धार गरिएको हो।

स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्