Logo

बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौं, ८ बैशाख । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ।

उनका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पुर्याइसकिने छ। निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुटरुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ।

यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्