Logo

रास्वपाले एमालेलाई समर्थन गरेको भनी भ्रम सिर्जना गर्नु हारेको मानसिकता हो– रवि लामिछाने



काठमाडौं, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रवि लामिछानेले आफूहरुले अरु दलको उम्मेदवारलाई सर्थन गरेको भन्दै भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् ।

आज (आईतबार) मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचनका क्रममा भ्रम सिर्जना गर्नु हारेको मानसिकता भएको बताएका छन् । यस्तो कार्य लोकतान्त्रिक दलका लागि शोभनीय नहुने भन्दै उनले उक्त कार्यको भर्तसना गरेका छन् ।

‘भ्रम फैलाइएको छ । मेरोजस्तो नक्कली स्क्रिनसर्ट बनाएर नक्कली काम गरिएको छ । यस्तो हारेको मानसिकता लोकतान्त्रिक दलहरुमा शोभनीय भएन । वर्षौदेखि राजनीतिमा लागेको, परिवर्तनको संवाहक बनेको, त्याग र बलिदान गरेका दलका नेताहरुले यस्तो भ्रम फैलाउने दरित्रपन मैले सोचेको थिईँन । म यसको घोर भत्र्सना गर्न चाहन्छु,’– सञ्चारकर्मीहरुसँग उनले भने ।

लामिछानेको फेसबुकबाट तनहुँमा एमाले र रास्वपाबीच एमालेको उम्मेदवारलाई सघाउने निर्णय भएको भन्दै ईडिट गरेर पोस्ट गरिएको थियो ।

‘एमाले र रास्वपाको सहमति अनुसार तनहुँमा एमालेलाई सघाउने निर्णय गरेका छौ । केही बाध्यात्मक परिस्थिति सृजना भएको कारणले यो निर्णय गर्नुपरेको हो, यसको लागि हाम्रा शुभचिन्तकहरुसँग हामी माफी माग्दछौं,’– रास्वपाका सभापति लामिछानेको फेसबुक प्रोफाईलमा ईडिट गरेर सामाजिक सञ्जाल भरी छ्याप्छ्यात्ति पारिएको थियो ।

आज देशभरका तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । चितवन–२ मा रास्वपाका सभापति लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन भएको हो भने तनहुँ– १ मा अघिल्लो आम निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा– २ मा अघिल्लो निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन भएको हो । File Photo/Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्