Logo

विपद् जोखिमको सूचना प्रत्येक व्यक्तिसम्म पुग्ने संयन्त्र प्रभावकारी बनाऔँ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं, ११ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नपर्ने बताएका छन्।

आज यहाँ आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक कार्यशालामा उनले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले भने, “विपद् व्यवस्थापन सूचना प्रणालीलाई थप सुदृढ गर्दै बहुप्रकोपीय पूर्वसूचना प्रणालीको विकास गरी जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक छ।” गृहमन्त्री श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिए। उनले पुनः निर्माण र पुनःस्थापनामा प्राधिकरणसँगै सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।

गृहमन्त्री श्रेष्ठले आगलागीका घटनामा अग्नि नियन्त्रण र वारुणयन्त्र व्यवस्थापनको कार्यमा स्थानीय तहलाई थप सहयोग गर्ने संयन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझावसमेत दिए।

कार्यशालामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनका लागि प्रदेश र सङ्घबीच समन्वय गर्न महानगर तयार भएको बताए। उनले भने, “संविधानको विपद् व्यवस्थापनसम्बन्धी अनुसूची ९ ले व्यवस्था गरेअनुसार सङ्घ र प्रदेशसँग सहकार्यमा राष्ट्रियस्तरको ड्रिलको व्यवस्थापन गर्न ललितपुर महानगर तयार छ।”



प्रतिक्रिया दिनुहोस्