काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं योजनाविद् डा. गोविन्द पोखरेलले पार्टीको परम्परागत कार्यशैलीका कारण उपनिर्वाचनमा हार व्यहोरेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको परम्परागत शैली जनताले मन नपराएको बताएका हुन् । ‘कांग्रेसको परम्परागत कार्य गर्ने शैली छ, त्यसलाई जनताले मन पराएनन्,’– उनले भने ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई उपनिर्वाचनमा जिताउनका लागि आफ्नो कुनै हात नरहेको उनको स्पस्टोक्ति थियो । उपनिर्वाचनमा गठबन्धनका दल इमानदार नभएको उनको आरोप छ । उपचिर्वाचनमा गठबन्धन दलबाट भनेजत्ति सहयोग नभएको उनको भनाई छ । तनहुँमा कांग्रेसको आफ्नो भोट कतैपनि नगएको उनले बताए ।
‘हामीले यसभन्दा अगाडि गठबन्धन गरेर २५ हजार मत प्राप्त गरेका थियौं । यसपटक हामीले २० हजार मत प्राप्त गर्यौं । पाँच हजार मत आएन । त्यो मेरो विचारमा हाम्रा गठबन्धनका साथीहरुमा जति इमानदारी हुनुपथ्र्यो त्यत्ति भएन जस्तो लाग्छ मलाई,’– उनले भने ।