Logo

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सांसद् देवकोटाको माग



काठमाडौं,१३ वैशाख । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग गरेका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणालीलाई पनि प्रत्यक्ष निर्वाचन प्रणालीमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए ।

उनले भने,‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टीरदलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ ।समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ ।’

उनले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए ।

विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ । ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्