Logo

लामो समय कुर्न पर्दैन, रमेश खरेललाई संसद्मा लिएरै जान्छौं– रवि लामिछाने



काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले ढिलो–चाँडो रमेश खरेरलाई संसद्मा लिएर जाने बताएका छन् । उपनिर्वाचनमा निर्वाचित भएसँगै आज (बुधबार) धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछाने खरेलजस्ता निर्भिक र निडर देशभक्त संसद्मा खाँचो रहेको बताए ।

‘रमेश खरेललाई हामी संसद्मा लिएरै जान्छौं । ढिलो चाँडोमात्रै हो । बेथिति मौलाएको यो देशमा रमेश खरेलजस्ता निडर र निर्भिक देशभक्तहरुको खाँचो छ । यो देशलाई रमेश खरेलको खाँचो छ । धेरै लामो समय कुर्न पर्दैन,’– उनले भने ।

साथै, निर्वाचनको परिणामबाट आफूहरु नमात्तिएको समेत उनको भनाई छ । आफूहरुलाई मतदाताले भ्रष्टाचारीलाई छोड्दैनन् भनेर मत दिएको लामिछानेको दाबी छ । साथै आफूले सांसदहरुलाई नेपाली जनताले मत दिनुको कारण नविर्सन पटक–पटक सम्झाउने गरेको पनि उनको भनाई छ ।

‘यो विश्वासलाई हामी कायम राख्ने छौं । हामी यसबाट मात्तिएका छैनौं । हामीलाई आएको मतमा सबै भन्दा बढि मत चाहिँ यिनीहरुले भ्रष्टाचारीलाई छोड्दैनन् भनेर हाल्नु भएको हो तपाईँहरुले । हामीले हाम्रा सबै सांसदहरुलाई भनेका छौं, नेपाली जनताले हामीलाई किन भोट दिए ? त्यो हामीले विर्सन हुँदैन,’– उनले भने ।

सत्ताको रमझम र रमाईलो छाडेर आफू र आफ्ना सांसदहरु जनताको सेवामा आउने पनि उनको भनाई छ । ‘सत्ताको रमाईलो र सांसद हुँदाको रमझमले जनताले दिएको मतलाई मान्छेले विर्सन सक्छ । त्यस्तो बाटो कसैले नविरोओस् भनेर हामीले विधानमा नै फिर्ता बोलाउने अधिकार राखेका छौं । नेताको चाकडीमा होइन, जनताको सेवामा हाम्रा सांसदहरु आउने छन्,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्