काठमाडौं, १५ वैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले चुनाव लडेको खण्डमा काहीबाट पनि नजित्ने टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्रको तालिवानी जमातले कांग्रेस असफल भएको उनले टिप्पणी गरे । कांग्रेसका नेतृत्वले हरेक कुरामा बार्गेनिङ र दलाली गरेको र कांग्रेसमा ‘चम्फादेवी’ प्रवृत्ति रहेको उनको आरोप छ । कांग्रेस भ्रष्टाचारको जननी भएको उनको दाबी छ ।
‘शेरबहादुरजी कुनै पनि क्षेत्रमा चुनाव लड्नुभयो भने अहिले जित्नुहुन्न । कांग्रेसमा अहिले तालिवानको जमात छ । सरदारले जे भन्छ, त्यही मान्ने । जनताको र युवाको एजेण्डा छुँदैछुँदैनन् । भ्रष्टाचारको जननी भएको छ । मुलुक आक्रान्त भएको छ,’– उनले भने ।
देश आर्थिक संकटको घडीमा रहेको बेला अयोग्य लडाकुलाई दु्ई लाख रुपैयाँ दिने निर्णय गरेर सरकारले भ्रष्टाचारलाई बढवा दिएको उनको आरोप छ । अहिलेको गठबन्धन सरकारको ध्यान लुट्नेदेखि अन्त नभएको उनले बताए । ‘अहिले देशमा आर्थिक संकट भएपनि सरकारमा रहेकाहरुको ध्यान पैसा लुट्नेमा रहेको उनको आरोप छ । अब आफूहरु भ्रष्टाचार विरोधी आन्दोलन गर्न लागेको पनि उनले खुलासा गरे । उक्त आन्दोलनको अगुवाई आफूले गर्न लागेको पनि उनको भनाई छ । साथै,अहिलेको सरकार श्रीमान, श्रीमती पनि आलोपालो गर्ने कानुन बनाउन पछि नपर्ने उनको टिप्पणी छ ।
‘यो नालायक नेतृत्वको कारणले कानुन बनाउन बेर छैन, श्रीमान, श्रीमतिमा पनि आलोपालो गरौं । नालायक नेतृत्वहरु । यस्तो पनि नेतृत्व हुन्छ ?’– उनले प्रश्न गरे ।
नेपालको अर्थतन्त्र र लोकतन्त्र नेपाली जनताको हातमा हुनपर्ने उनको माग छ । अहिले को सरकारले एउटा माडवारी समुदायमा नेपालको अर्थतन्त्र सुम्पिन खोजेको उनको आरोप छ । धितोपत्र बार्डका अध्यक्ष रमेश हमाललाई कारबाही गर्ने पनि उनको दाबी छ । विभिन्न व्यक्तिहरुका सय करोढ भ्रष्टाचारको फाइल आफूसँग भएको उनको दाबी छ । आफू ति फाईलको अध्ययनको क्रममा रहेको उक्त भ्रष्टाचारलाई संसद् र जनतामा लिएर जाने उनले बताए ।
‘नेपालको अर्थतन्त्र एउटा माडवारी समुदायलाई दिएर देशलाई कंगाल गराउन खोज्दैछन् । रमेश हमाल धितोपत्र बोर्डको अध्यक्षलाई कानुृनी कारबाही हुन्छ । कानुनी कारबाहीको दायरामा हामी ल्याउँछौं । सय करोड भ्रष्टाचारको फाइल म सँग छ । सबै अध्ययन गर्दै छु । एकएक गरेर संसदमा पनि बोल्छु र जनतामा पनि बोल्छु । म जनताको जनप्रतिनिधि हो । कसैको दलाल होइन । जुनसुकै पार्टी र पदका हुन्, देशको लुटेराहरुलाई हामी छोड्दैनौं,’– उनले भने ।