Logo

सरकारलाई सांसदहरुको चेतावनी : निमुखा जनताको करको दुरूपयोग नगर



काठमाडौं,१५ वैशाख । सरकारले अयोग्य लडाकुलाई दुई- दुई लाख रुपैयाँ रकम उपलव्ध गराउने कार्यविधि पारीत गरेको विषयले जोडदार रुपमा संसद्मा प्रवेश पाएको छ ।

प्रतिनिधि सभाको आजको (शुक्रवार) बैठकको आकस्मिक समयमा बोल्ने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदसँगै नेपाली कांग्रेसका सांसदले समेत उक्त निर्णयको विरोध गर्दै कडारुपमा आप्पति जनाएका छन् ।

आजको बैठकमा बोल्दै एमाले सांसदहरु ठाकुर गैरे,पदम गिरी,कांग्रेस सांसद रामहरी खतिवडा,राप्रपा सांसद रोशन कार्की लगायतले देश चरम आर्थीक संकटमा फसेको बेला सरकारले अयोग्य लडाकुको नाममा कार्यकर्तापोस्ने उदेश्यले कार्यविधि ल्याएको भन्दै विरोध गरेका हुन् ।

सांसद् गैरेले प्रदेश सरकार र स्थानीय तहलाई दिएको बजेट कटौती गरेर सरकारले अयोग्य लडाकुलाई रकम उपलव्ध गराउने कार्यविधि ल्याउनु आफैमा लज्जास्पद रहेको बताए । ‘कर्मचारीले तलवभत्ता पाउन सकेका छैनन् यस्तो चरम आर्थीक संकटको अवस्थामा सरकारले अयोग्य लडाकुका नाममा  रकम विनियोजन गर्न खोजेर रमिता देखायो’ गैरेले भने ।

राप्रपा सांसद रोशन कार्कीले विकास बजेट कटौती गरेर सरकारले जनताको करको दुरूपयोग गरेर आफ्ना कार्यकताएलाई एक अर्ब ४० लाख बोनस बाढ्न लागेको भन्दै विरोध गरिन् । कार्कीले भनिन् यो रकम कसैको घरको सम्पति होईन मनलाग्दी नगर । उनले प्रचण्डलाई विश्वासको मत मंगलग्रहबाट आएर दिएका हाईनन् भन्दै कार्कीले फेरी विश्वासको मत कुन मुखले माग्नु हुन्छ ? भन्दै प्रश्न गरिन् ।

कांग्रेस सांसद रामहरी खतिवडाले सरकारको उक्त निर्णय गलत रहेको बताउदै अयोग्यले दुई लाख रकम पाउने भए योग्य लडाकुले कती पाउँछन भन्दै प्रश्न गरेका छन् । उनले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्