काठमाडौं, १६ बैशाख । बहिर्गमित जनमुक्ति सेना नेपाल वरिष्ठ उपाध्यक्ष खडक बहादुर रम्तेलले सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयको कांग्रेसका महामन्त्री गगन थापाले विरोध गरेपछि उनलाई दलाल र बाख्रा चोरको संज्ञा दिएका छन्।
शनिबार बहिर्गमित जनमुक्ति सेना नेपाल रिपोर्टर्स क्लब नेपाललमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रम्तेलले महामन्त्री थापालाई दलाल र बाख्रा चोरको संज्ञा दिएका हुन्।
उपाध्यक्ष रम्तेलले आफूहरुले लडेर ल्याएको ब्यवस्था योग्य भएको तर आफूहरु कसरी अयोग्य भएको भन्दै कडा प्रश्न गरेका छन्।
‘खोइ नेपालको भृकुटीमण्डप कागज कारखाना कसले बेच्यो? तीम्रा बाउले बेचेको हो? दलालहरु त्यो गोरखकाली टायर कारखाना कसले बेच्यो? तीम्रा बाउले हो? त्यो बाँसबारी छाला जुत्ता कारखाना कसले बेच्यो? जनकपुर चुरोट कारखाना कसले बेच्यो? जनकपुर चिनी मिल कल्ले बेच्यो? हिमाल सिमेन्ट कारखाना कल्ले बेच्यो? दलालहरु। पृष्ठभूमी फर्केर हेर्नुपर्ने हो। तिमीहरु कस्तो थियौ ? हामीलाई थाहा छैन। हामी ब्यवस्थाको लागि आफ्नो बालापन त्यागेर जंगलमा बन्दुक बोक्दै गर्दै तिमीहरु राजाको पाउमा दाम चढाएर प्रधानमन्त्री र मन्त्री हुन पाउँ भनेर दाम चढाउन जाने दलालहरु तिमीहरु होइन ? अहिले हामीलाई राज्यको पैसा दोहन भन्ने? अयोग्य भन्ने?,’ उनको आक्रोश थियो।
उनले आफूहरु कहिल्यैपनि अयोग्य नभएको र ब्यवस्थाको लागि लड्ने कहिल्यैपनि अयोग्य हुन नसक्ने दाबी गरे। महामन्त्री थापालाई विभिन्न आरोप लगाउँदै उनले भने,‘नेपाली जनताले लडेर ल्याएको ब्यवस्थामा चाँही कुकुरले जस्तो रजाँई गर्ने। गगन थापालाई म प्रश्न गर्न चाहन्छु–कहाँ गए नुवाकोटका ती बाख्रा? हामीलाई त्यसको हिसाबकिताब चाहिन्छ। बाख्राखसीको नाममा कानूनी रुपमा तपाईंले चाँही राज्यको दोहन गर्ने, खोइ देखाउनुस एक/एक हिसाबकिताब चाहिन्छ। तपाईंले अहिले ठूलो कुरा गर्ने तपाईं दलाल होईन? तपाईंले एमसीसी पास गरेबाफत कति पैसा भ्रष्टाचार गर्नुभयो? तपाईं ठूलो कुरा गर्ने गगन थापा? तपाईं पनि यो देशको कुलङ्गार हो।’
उनले गगनको पार्टी नेपाली कांग्रेसले विगतमा नेपालका सारा उद्योग/धन्दा र कलकारखानाहरुलाई तहसनहस पारेर ६० लाखभन्दा बढी युवालाई बिदेश पलायन गरेको आरोप लगाए। सम्बोधनको क्रममा निकै आक्रामक सुनिाएका रम्तेलले भने–‘ठूलो कुरा गर्ने दलाल। बाख्रा चोर। त्यसकारणले गगन थापा बाख्रा चोर हो। राज्यको पैसा कृषि मन्त्रालयबाट बाख्रा पाल्छु भन्ने, कानूनी प्रकिया मिलाएर पैसा निकासी गर्ने, सारा पैसा लुट्ने लुटेरा हो। त्यसकारणले महाकाली टनकपुर बेच्ने देशबेचुवाहरुले अहिले ठूलो कुरा गर्र्न मिल्छ ?’
२०७३ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफूहरुलाई अन्याय भयो भनेर दुई/दुई लाख रुपैयाँ छुट्याइदिएर गरिमामय संसद्बाट ऐन बनाएर पैसा दिनका लागि ठिक्क पारिएको चिजलाई अदालतमा मुद्दा हालेको स्मरण गराउँदै उनले भने,‘दलालहरुलाई त्यहाँसम्म याद हुने, अदालतको कुनैपनि विषयको फैसला हुन्छ। अनि कार्यान्वयन हुन्छ भन्ने थाहा नहुने दलालहरुलाई हामीहरुलाई अहिले प्रचण्डको कार्यकर्ता भनिएको छ। जबकी सबभन्दा बढी हामी प्रचण्ड र माओवादीसँग लडेका छौं।’
उनले बहिर्गमित जनमुक्ति सेनाहरुलाई १० वर्षको क्षतिपूर्ति चाहिने माग गरे। उनले भने,‘हामी ६/७ वर्ष अदालतमा लड्दा तिम्रा आँखा फुटेका थिए दलालहरु? अहिले चाहीँ तिमीहरुले प्रचण्डले पैसा बाँड्यो भन्ने? हामीलाई १० वर्षको क्षतिपूर्ति चाहिन्छ। १० वर्ष अगाडि दुई लाख दिने भनिएको पैसा, अदालतमा मुद्दा हाल्ने षड्यन्त्र भयो। अहिले चाहीँ पैसाको दोहन भयो भन्ने। खबरदार तिमीहरुलाई अब यो देशबाट भ्रष्टाचारको महाभियोग चलाएर एक/एक गरी थुतेर सडकमा पछारिनेछ दलालहरु। तिमीहरु ठूलो कुरा गर्ने? जनमुक्ति सेनाले शान्ति प्रकियालाई स्विकारेर अहिले शान्ति भएको हो।’